सिस्नोपानी व्यंग्यात्मक देउसी
भन भन भाइ हो – देउसिरे
भन भन बैनी हो – देउसिरे
कुनै बेला हाम्रो – देशैमा
भ्रष्टाचारको – केसैमा
अख्तियार भन्ने – राज्य थ्यो
लोकमान भन्ने – राजा थे
नकुरा गरौं – कस्ता थे
जंगबहादुर जस्ता थे
शिकार खेल्थे – हेरेर
लुतेलाई लडाउँथे – बेरेर
अहिले त अख्तिया – खै कुन्नी
बन्दुकै पड्के नि – नसुन्नी
प्रमुखकै नाम थाहा – पा छैन
बस्नेत कि उठ्ने – थाहा छैन
नाता र गोताले – सताए
भ्रष्टाचार फक्र्यो – फक्रिनु
सम्धीलाई कसरी – पक्रिनु
अन्यौलमा हो कि – परेका
दायित्वबाट – झरेका
हामी त्यसै आएनौं गोपाल सरले खटाए
तेल भण्डाण गर्ने जमिन खोज्न पठाए ।
दुई लाख पर्ने जमिनलाई २० लाख खन खन गन्या छन्
गोपाल सरलाई गोपाल सरले स्याबास भन्या छन् ।
अर्का गोपाल शिक्षामन्त्री डिस्को नाच नाच्दैछन्
उठ्लास भन्दै शिक्षाकै ढाड भाँच्दैछन् ।
कर आयोग नै मारेर शर्मा महत कमाउँछन्
कसले छुने ठाउँठाउँमा थैली चढाउँछन् ।
समाजवादी बाटोमा देउवा ईंटा थप्दैछन्
खुमबहादुर टिकट बाँड्छन् गगन थाप्दैछन् ।
देउवाजीले ब्याटिङमा शतक हान्लान् जस्तो छ
मन्त्रिमण्डल बोइलरको बथान जस्तो छ ।
केही मन्त्री आउनुभो, केही मन्त्री जानुभो
सबै मन्त्री अटाउन हलै सानु भयो ।
बीबीसीमा देउवाजीले झण्डै जनता पिट्नुभो
पत्रकारले प्रश्न सोध्दा दाह्रा किट्नुभो ।
राहत बाँड्न जानुभो हेलिकप्टर चढ्नुभो
भषण पढ्न खोज्दा लभ लेटर पढ्नुभो ।
मै हुँ भन्थ्यो दिल्ली पनि अहिले हेर्या हेर्यै भो
देउवाजीको कालो बोको छेर्या छेर्यै भो ।
सिस्नुपानी नेपालैका हामी कवि कलाकार नि लै लै
प्रज्ञाको दैलो, खेल्दै देउसी भैला,
नाच्दै आयौं छमछम ।
काठमाण्डूका खाल्डे सडक सबै सम्म पारेछन् नि लै लै
मेट्रो पनि चलेछ, मोनो नि गुडेछ
चढी आयौं ठमठम ।
भ्रष्टले नि चुनाव लड्ने झण्डै बन्यो नि.
.यम्
विफल भयो छक्क परे दाजु राधेश्याम ।
सांसद हुन्जेल विकास बजेट छाडेपछि
पेन्सन
दुईटै गुम्यो हेर्दा हेर्दै भयो टेन्सन ।
प्रधानमन्त्री कुल्चिहाल्छन् माड्छन् आचारसंहिता
आयोग रुन्छ हामी त हेर्छौं रमिता ।
संवैधानिक आयोग हो कि रुञ्चे लाग्या बालक
अलिकति लाज मान देशको चालक ।
अनुदानको रासन हुम्ला जुम्ला पुग्दा कुहिन्छ
आधा पुग्छ मुखमा आधा अन्तै चुहिन्छ ।
बाटो छैन बत्ती छैन कर्णालीका पाखामा
फुलो रैछ राजधानीको हेर्ने आँखामा ।
पुननिर्माण सीईओ टिकट लेर कुलेलाम
वर्षौंदेखि छाप्रोमै पीडित जिल्लाराम ।
हाम्रो देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको
कदर गर्न राज्यले खोइ त जानेको ?
श्रमिक सधैं सकसमा कति आउँछन् बाकसमा
रोजगार जुटाउँ आफ्नै धर्ती आफ्नै आकाशमा ।
चुनाव आउँदा मधेसी, बाढी आउँदा परदेशी
काठमाडौंमै भुनभुन गर्छन् मन्त्री पाएसी ।
बिहान फोरम, दिउँसो कांग्रेस, साँझ हुन्छ एमाले
मधेस कैले बन्छ ठाकुर यस्तो पाराले ।
मधेसको मुहार फेर्न देखाउ केही गरेर
जंगली हात्ती – मधेसमा
डुबान र बाढी – मधेसमा
फोहोरका खाडी – मधेसमा
छुवाछुतले हान्छ – मधेसमा
डेंगुले लान्छ – मधेसमा
शीतलहर चल्छ – मधेसमा
तातोले पोल्छ – मधेसमा
भ्रष्ट र तस्कर – मधेसमा
सर्प र मच्छड – मधेसमा
बन्दुक र भाला – मधेसमा
विकासमा ताला – मधेसमा
दाइजोको दलदल – मधेसमा
बोक्सीको खलबल – मधेसमा
दशगजा सर्छ – मधेसमा
गोविन्द मर्छ – मधेसमा
देवनारायण थुनिन्छ – मधेसमा
भोकमरी सुनिन्छ – मधेसमा
खानकै दरकार – मधेसमा
खोई कहाँ छ सरकार – मधेसमा
भरतपुरका कांग्रेस दाजै भोट कता हाल्या थ्यौ नि राजै
जिताउने एउटाले, बिताउने अर्कैले
तुमको ऐले कैसा लगता है … ।
गठबन्धन तोडी गयौ, मलाई एक्लै छोडी गयौ नि लै लै
कि लाउ माया मैति, कि लाउ माया उहीतिर
क्याबिनेट से क्युँ नही हट्दा है … ।
बेलाबेलै खप्की खान्छन् प्याच्चपुच्च बोलीले
दुई नम्बरमा झण्डै चिम्ता बोके ओलीले ।
गुण्डा डनले टिकट पाए एमालेमा पसेर
चरी–घैंटे रुँदा हुन् माथि बसेर ।
इन्काउन्टरमा पेर तिनीहरु मरिगए
इन्काउन्टरमा नपर्नेचैं मन्त्री हुनेभए ।
दीपक मनाङेलाई आउँदो गृहमन्त्री बनाइदेउ
नवराज सिलवाललाई गृह राज्य देउ ।
केपी ओली प्रचण्ड मिले भन्छन् रातारात
हिजोसम्म काटाकाट आज चाटाचाट ।
खोक्रो थियो राष्ट्रवाद भरिलो भो पुटुक्कै
छिनको छिनमै लम्पसारवाद उठ्यो जुरुक्कै ।
माओवादी सिंगै एकनाथ चुरे भावर एमाले
पासवान गुप्ता त्रिपाठी माले मसाले ।
आलु केरा पिँडालुमा नुनखुर्सानी खन्याए
नयाँ नेपाल कम्युनिष्ट पार्टी सलाद बनाए ।
एमाले र माओवादी लगनगाँठो बरी लै
दुई दिनको रामछाँया कि जुनी भरिलाई ?
तिमी आफैं मिल्यौ कि मिलाउनेले मिलायो ?
दुईटा मिल्दा कांग्रेसको आङ् किन चिलायो ?
गर्मी हुँदा रुखतिर जाडो हुँदा घामतिर
छलाङ मार्दै प्रचण्ड पुग्लान धामतिर ।
बाबुरामको नयाँ पसल वर्ष दिनमै टाट भो
नयाँ शक्ति पार्टी नै घर न घाट भो ।
काठमाडौंमा सिंगापु – देखियो
फोहोरले फ्लाइओभर – छेकियो
मोनोरेल मनमनै – चढियो
चिप्लेर झण्डै – लडियो
सुरुङमार्गबाट – छिरेर
द्रुतमार्ग हुँदै – फिरेर
मेलम्ची पानी – चाखियो
निजगढमा बोइङ – राखियो
चीनबाट चुच्चे – रेल आयो
पाइपलाइनबाट – तेल आयो
बाहिरी रिङरोडमा – फिलीली
बसपार्कको टावर – फिलीली
कान्छीको हात – समाउँदै
साततले बाटोमा – घुमाउँदै
स्मार्ट सिटीको – घरैमा
नेभिटेकरको – भरैमा
भान्सामै ग्यास आउँछ – भनेर
नेताको कुरा – सुनेर
सस्तैमा बेचियो – सिलिन्डर
झल्याँस्स ब्यूझेँ – गाडीमा
भाडा पो माग्छ – किलिण्डर
महानगर एक्सप्रेसको – किलिन्डर ।।
हाम्रो देशका कर्मचारी युनियनका अधिकारी नि लै लै
आफ्नो जागीर खाउ भन्दा, धानीयमा जाउ भन्दा
सरकारलाई नै ढाल्न कसिन्छन् ।
हाम्रो देशका अस्थायी शिक्षक जाँचै नदिई थायी माग्छन् नि लै लै
दलको झोला बोकेर, दलकै नारा घोकेर
यिनले कस्तो शिक्षा बक्सिन्छन् ।
तिहारको किनमेल गरौं दरबारमार्ग बजारमा
सत्र सयको जुत्तालाई २४ हजारमा ।
जित भन्छन् त्यति पैसा तिरी फुत्त भाग्नु है
नत्र कुट्लान व्यापारीले चुप लाग्नु है ।
बैंकहरु खुरुखुरु ब्याजमात्रै बढाउँछन्
गभर्नरज्यू तपाईंलाई के के चढाउँछन् ?
सरकार किन्ने पार्टी किन्ने टियू किन्ने अन्सारी
अपार्टमेन्टलाई अस्पतालमा गरे नामसारी ।
मेडिकलका माफियाले सरकार उठबस गराउँछन्
कारवाही गर्ने निकायलाई घाँस चराउँछन् ।
फुटी बेच्ने दुगड दाजु रैछौ साह्रै बफादार
झोल किन्ने ग्राहकलाई चोक्टा उपहार ।
विश्वधनी सूचीमा बिनोदले नाम टल्काए
कर छल्न यता उद्योग टाट पल्टाए ।
उद्योगी र व्यापारीले राज्यमा दाइँ गर्दछन्
नेता उनकै दाना खान आइँ गर्दछन् ।
मोबाइल देनन् मेयरसापलाई मोटर देनन् चढ्नलाई
बाधा गरे विरोधीले अघि बढ्नलाई ।
हावा हाने फुस्स फुस्स एउटै अण्डा पारेनन्
केको विद्या केको सुन्दर माखै मारेनन् ।
काठमाडौका मेयरसाहेब जितेपछि कता गायब नि लै लै
एक सय एक सपना जनतालाई देखायौ
ऋाफू भने झ्याप्पै निदायौ ।
म्हानगर कर्मचारी नेताजनका छोरी ब्वारी नि लै लै
पाल्न पनि गाह्रो छ, फाल्न झनै साह्रो छ
निर्वाचितलाई पिठ्यूँ देखाए ।
देशबाट जाओस – भ्रष्टाचार
सबैमा छाओस् – सदाचार
अख्तियारको निन्द्रा – भंग होस्
भ्रष्टलाई थुन्ने – दंग होस् ।
बराबर बाँड्ने – भान्छे होस्
नेतालाई छुँदा – मान्छे होस्
गुण्डाले गोली – नताकोस्
डनले टिकट – नथाकोस्
सडकमा बालक – नबगुन्
ठेक्दारले निर्माणमा – नठगुन्
डाक्टरले किड्नी – नकाटुन्
उम्मेदवारले जनता – नढाँटुन्
रेमिट्यान्सको रेट – बढ्दो होस्
हुण्डीले रजाई – घट्दो होस्
भाइबरमा बाउआमा – नटाँसियून्
साइबरमा छोराछोरी – नगाँसियून्
बाँदरले मतपत्र – नच्यातून्
चपाएर ब्यालेट – नफ्याँकून्
हारे नि जित्ने – दाउ हुन्
रेणुका जस्ता – बाउ हुन्
लेडसेडिङ फर्केर – नआओस्
इन्भर्टरले मौका – नपाओस्
अँध्यारो नेपाल – मूर्दावाद
जनार्दन कुलमान – जिन्दावाद
युनियनको जालो – उध्रियोस्
कर्मचारी चाला – सुध्रियोस्
स्वास्थ्य बीमा – जिन्दावाद
गिरीराज गगन – धन्यवाद
लालबाबु झैं – इमान् हुन्
सुशीला जस्ता – श्रीमान् हुन्
महको जस्तो – बनोट होस्
धुर्मुसको जस्तो – अठोट होस्
सर्वेन्द्र जस्तो – सिपाही होस्
बाग्मती जस्तो – सफाइ होस्
दिल्लीले निम्तो – नगरोस्
चुनावको मिति – नसरोस्
संविधान पूर्ण – सफल होस्
समृद्धि यात्रा – डबल होस्
बिदाई
बाढी पहिरो भूकम्प महामारी अनिकाल
युगौंदेखि रोएको रायै छ नेपाल
खोलानाला बन्दकी कष्टपूर्ण ज्न्दिगी
कैले देख्न पाइन्छ यो देशको समृद्धि ?
कति सोध्नु एउटै प्रशन कति खेल्नु भैलो
बन्द गर्देऊ बिन्ती छ देशमा भाँडभैलो

Comments
Post a Comment